कर्रा खोलामा ३० हजार माछाका भुरा छोडियो

पालिका डायरी
६ मंसिर २०८२, १९:०१

विश्व मत्स्य दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित कर्रा खोलामा ३० हजार माछाका भुरा छोडिएको छ। प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौंडा र हेटौंडा  उपमहानगरपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी कर्रा खोलामा माछाको भुरा छोडिएको हो।

केन्द्रका सूचना अधिकारी विक्रम स्याङ्तानले प्राकृतिक जलाशय र जलीय जीवनको संरक्षण गर्ने उद्देश्यले गर्दी जातको माछाको ३० हजार भुरा छोडेको केन्द्रका सूचना अधिकारी विक्रम स्याङ्तानले जानकारी दिए। उक्त अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारी, केन्द्रका प्रमुख सरोजकुमार यादवलगायत नगरका विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर लामाले कृषिका विभिन्न क्षेत्रमा काम गर्दै आएको उपमहानगरपालिकाले मत्स्य प्रवर्द्धन एवं संरक्षणलाई पनि जोड दिएको बताइन्। उनले जलीय जीवको संरक्षणका लागि माछाका भुरा व्यवस्थापन तथा जलस्रोत संरक्षणमा केन्द्रले चासो देखाएको भन्दै प्रशंसा गरिन्। ‘माछा उत्पादन वृद्धि र जलस्रोत संरक्षणका लागि केन्द्रले गरेको सहयोग महत्वपूर्ण छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले स्थानीय स्रोत र जीविकोपार्जन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्छन्। उपमहागनरपालिका यस्ता कार्यमा सधैँ हातेमालो गरेर अगाडि बढ्न चाहन्छ।’

मेयर लामाले उपमहानगरपालिकाले आगामी दिनमा पनि मत्स्य उत्पादन वृद्धि, प्राकृतिक जलस्रोत संरक्षण र जीविकोपार्जनमा योगदान हुने कार्यक्रम विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया