मकवानपुरको कैलाश गाउँपालिकाका विशेषगरी कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ। पाँच दिनसम्म सञ्चालन हुने तालिम शुक्रबारबाट सुरु भएको हो।
कैलाश–९ मा रहेको कालिका माविमा सञ्चालित तालिमको उद्घाटन वडा नं. ९ का वडाध्यक्ष भूवनसिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा गरिएको थियो। तालिम उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए। उनले तालिमबाट सिकिएका सीप र ज्ञान विद्यालय तथा विद्यार्थीमा लागू हुनुपर्ने भन्दै शिक्षामा क्रमिक रूपमा सुधार हुँदै गएको उल्लेख गरे।
“तालिम भनेको ऊर्जा हो, तालिमपछि यहाँहरू ऊर्जावान भएर विद्यालय फर्कनुस्,” अध्यक्ष मुक्तानले भने। प्रअ बैठकमा उठेका विषयमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै समस्याको समाधानका लागि सिङ्गो गाउँपालिका लाग्ने उल्लेख गरे। उनले पालिकाले छिट्टै तालिम हल निर्माणको तयारी गरिरहेको तथा यस्ता समस्या दोहोरिन नदिने बताए।
कार्यक्रममा वडा अध्यक्ष भूवनसिंह घलानले सिकेका सीप जति सक्दो कार्यान्वयन गर्न आग्रह गरे। अनुगमनका क्रममा प्रभावकारीता नदेखिएको उल्लेख गर्दै प्रतिकूल अवस्थामा पनि अनुकूल भएर काम गर्नुपर्ने बताए। विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले तालिमबाट सकेसम्म धेरै ज्ञान र सीप सिक्न आग्रह गरे।
कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले यसअघि भएका तालिम विद्यालयमा कार्यान्वयन नभएको बताए। तालिमलाई तालिममै सीमित नराखी कार्यान्वयन पक्ष सबल हुनुपर्ने निर्देशन दिए। तालिमपछि प्राप्त ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गर्नुपर्नेमा उनले जोड दिए।
तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरूको सहभागिता रहेको सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारीले बताए। पाँच दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न विषयका विज्ञहरूको उपस्थिति रहने जनाइएको छ।
तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो।


