हेटौडाबाट खैरो हिरोइनसहित एक युवक पक्राउ
हेटौंडा / विशेष सूचनाका आधारमा प्रहरीले हेटौडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कर्रा निवासी ३७ वर्षीय हर्कबहादुर क्षेत्री लागुऔषध बोकेर हिँडिरहेको भन्ने जानकारी पाएपछि प्रहरी टोलीले सोमबार साँझ उनलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा क्षेत्रीको साथबाट प्लास्टिकसहित तौल गर्दा ७ ग्राम ५४० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका क्षेत्रीलाई तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। साथै, प्रहरीले क्षेत्रीको कोठामा गरेको थप खोजतलासका क्रममा २ थान फलामका रड पनि बरामद गरेको जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया



