भीमफेदी–२ मा एसईई लक्षित ४ महिने आवासीय कक्षा सुरु, शैक्षिक गुणस्तर उकास्ने लक्ष्य

पालिका डायरी
१ मंसिर २०८२, १५:१३

भीमफेदी गाउँपालिका–२ नम्बर वडा कार्यालयको व्यवस्थापनमा श्री कृष्ण माध्यमिक विद्यालयमा यस वर्ष सञ्चालन हुने एसईई तयारीका लागि चार महिनाको  आवासीय कक्षा आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

आवासीय कक्षा सञ्चालन गर्दै भीमफेदी गाउँपालिका–२ का वडा अध्यक्ष कासिराम बज्युले श्री कृष्ण माध्यमिक विद्यालयको नयाँ शैक्षिक वर्षलाई लक्षित गरी सुरु गरिएको यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको बताए।

विद्यालयको आवासीय कक्षा सञ्चालनको उद्घाटन गर्दै अध्यक्ष बज्युले वडा कार्यालयले विद्यार्थीलाई लक्षित गरी विशेष तयारी कक्षा, अनुशासनयुक्त आवासीय वातावरण र अनुभवी शिक्षकहरूको मार्गदर्शनमार्फत उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेको जानकारी दिए। स्थानीय बुद्धिजीवी, जिम्मेवार अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष बज्युका अनुसार भीमफेदी गाउँपालिकाको श्री कृष्ण माध्यमिक विद्यालयले नयाँ योजनाका साथ अघि बढेर गाउँपालिकाभित्रको नमुना विद्यालय स्थापित गर्न सबै पक्षको साथ–सहयोगको अपेक्षा राखिएको उनले बताए । यस पहलले भीमफेदी–२ लाई शिक्षा क्षेत्रमा नमूना वडा बनाउने लक्ष्य राखिएको पनि उनले जनाकारी दिए।

प्रतिक्रिया