कैलाशमा आमा सुरक्षाका लागि ‘वेटिङ कक्ष’ सञ्चालन
मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ स्थित स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि ‘वेटिङ कक्ष’ (पर्खिने घर) सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घर उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको अधिकारसँग सम्बन्धित विषय भएकाले यो घर निर्माण गरिएको बताए । गाउँपालिकाका प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरूको थप सुरक्षा सुनिश्चित गर्न खाना–बस्नका सुविधा सहित वेटिङ कक्ष निर्माण गरिएको उनले जानकारी दिए ।
‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुनेको संख्या घट्दो रहेको उल्लेख गर्दै, अब सुत्केरी व्यथा लाग्नु अघि नै एक–दुई दिन अगाडिदेखि स्वास्थ्य सुरक्षाका लागि वेटिङ कक्षमा आउन आग्रह गरे । सीमान्तकृत चेपाङ समुदायको बहुल्यता रहेको वडामा स्वास्थ्य चेतना क्रमशः बढ्दै गएको पनि अध्यक्ष मुक्तानले बताए ।
गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षणजस्ता कार्य भइरहेका छन् र होम डेलिभरी शून्यतामा लैजाने उद्देश्यका साथ गाउँपालिका अग्रसर रहेको उनले बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम तथा भौगोलिक विकटता रहेका स्थानहरूमा यस्ता पर्खिने घर निर्माण गर्दै आएको बताए । प्रदेश सरकारले विशेष अनुदानअन्तर्गत गत आवको वार्षिक कार्यक्रममा यस घरको निर्माण गरिएको उल्लेख गर्दै, टाढाबाट आउनेहरूलाई खाने–बस्ने समस्या हुने भएकाले एक कोठे वेटिङ कक्ष निर्माण गरिएको जानकारी दिए ।
स्वास्थ्य संस्थामै सुत्केरी गराउन सके आमा र बच्चाको स्वास्थ्य अवस्था समयमै जाँच गर्न सकिने भएकाले स्वास्थ्य चौकीमै सुत्केरी गराउन आग्रह समेत गरे । घर निर्माणले सेवा प्रवाहमा थप टेवा पुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । ‘‘हामीले यसअघि पनि खाना खुवाउने र बस्ने व्यवस्था गर्थ्यौँ, अब घर निर्माण भएपछि झन सहज हुन्छ,’’ उनले भने ।
वडाध्यक्ष भोलनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकी प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । उक्त घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बस्न र खानका लागि आवश्यक सामग्रीसमेत उक्त घरमा व्यवस्था गरिएको छ ।


