तालाबन्दीका कारण सुर्नया गाउँपालिकामा औषधि अभाव
बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।
स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया गाउँपालिका-३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले बताए । औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको विष्टको भनाइ छ । स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्रसिंह विष्टले सामान्य सामग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था पुगेको बताए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीबाट औषधि लगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताए । गाउँपालिकाले स्वास्थ्य उपकरण सहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरीद प्रक्रिया अघि बढाउन नसकिएको महराको भनाइ छ ।
आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी युवाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुलाउन छलफल भए पनि सहमति जुट्न सकेको छैन ।


