हेटौंडा / गत भदौ २४ गते हेटौंडामा भएको जेनजी प्रदर्शनका क्रममा व्यक्तिगत घर र सरकारी भवनमा आगजनी, तोडफोड र चोरीका घटनाका योजनाकारहरूलाई उन्मुक्ति दिने प्रयास भइरहेको आरोप प्रशासनमाथि लागेको छ ।
सरकारी भवन र निजी घर जलाउने, तोडफोड गर्ने र ढुङ्गामुढा गर्ने वास्तविक योजनाकारहरूमाथि कारबाही नगरी केवल उन्मुक्ति दिन खोजिएको पीडितहरूको आरोप छ । उनीहरूले वास्तविक दोषीलाई उन्मुक्ति दिई संलग्नहरूलाई मात्र सजाय दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।
पीडितहरूका अनुसार सरकारी सम्पत्ति र व्यक्तिका निजी घरमाथि खुलेआम तोडफोड, आगजनी र ढुङ्गामुढा गर्दै हिँडेका व्यक्तिहरूका प्रत्यक्ष भिडियो, तिनका नाम, ठेगाना र प्रदर्शनमा प्रयोग भएका सवारी साधनका नम्बर सहित किटानी जाहेरी प्रशासनलाई उपलब्ध गराउँदा पनि प्रशासनले वास्ता नगरेको गुनासो छ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदर्शनकारीहरूलाई संगठित रूपमा परिचालन गर्नेहरू अझै खुला हिँडिरहेका भन्दै तत्काल कारबाहीको माग गरेका छन्। हेटौंडा उपमहानगरपालिकासहित विभिन्न सरकारी निकायहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै जाहेरी दर्ता गरिरहेका छन्।
निजी घर र सरकारी सम्पत्तिमाथि आगजनी, तोडफोड र ढुङ्गामुढा गर्नेहरूलाई कानुन अनुसार कारबाही नभए शान्ति, सुरक्षा र जनआस्थामा गम्भीर असर पर्ने चेतावनी समेत पीडितहरूले प्रशासनलाई दिएका छन्।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनासम्बन्धी दुई जनालाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको जनाएको छ।
आगलागी र तोडफोडका पीडितहरूले असोज ५ मै किटानी जाहेरी दिए पनि वास्तविक योजनाकारमाथि कारबाही अघि नबढेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको आरोप छ । सरकारी सम्पत्ति र व्यक्तिका घरमा आगजनी, तोडफोड र ढुङ्गामुढा गर्नेहरू अहिले पनि खुलेआम बजारमा हिँडिरहेका छन् तर प्रशासन मुकदर्शक बनेको छ।



