भीमफेदीको हात्तीसार: प्रचार र संरक्षणको पर्खाइमा, ओझेलमा ऐतिहासिक धरोहर

पालिका डायरी
२४ कार्तिक २०८२, ११:२८
भीमफेदीको हात्तीसार: प्रचार र संरक्षणको पर्खाइमा, ओझेलमा ऐतिहासिक धरोहर

राणा शासनकालमा मकवानपुरको भीफफेदी काठमाडौँ प्रवेश गर्ने मुख्य प्रवेशद्वार थियो। काठमाडौँ र तराईलाई जोड्ने प्रमुख विन्दु थियो। अनि नेपालका राजाहरू, राणा र विदेशी पाहुना तराईका जंगलमा सिकारका लागि प्रस्थान गर्ने स्थल थियो भीमफेदी।

यही भीमफेदीमा छ राणाकालीन हात्ती संग्रहालय। कुनै समय बेलायती महारानी एलिजाबेथ द्वितीयजस्ता विशिष्ट पाहुनाहरूको साक्षी बनेको यो स्थल अहिले भने संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा अवस्थित यो संग्रहालय संरक्षणको पर्खाइमा छ।

प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठामाडौँ आउजाउ गर्ने बाटोमै यो संग्रहालय रहे पनि यसको संरक्षण र प्रचार प्रसारमा भने राज्यका तीनै तहको ध्यान पुग्न सकेको छैन। हेटौंडाबाट करिब २१ किलोमिटर उत्तरतर्फ भीमफेदी गाउँपालिका–६ मा रहेको यो सङ्ग्रहालय करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ। यो संग्रहालयमा ४२ वटा ऐतिहासिक हौदा अर्थात् हात्तीको पिठ्युँमा राखेर बस्ने आसन सुरक्षित राखिएका छन्।

बेलायती महारानी एलिजावेथ द्वितीय र नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि अन्य राजपरिवारसम्मले प्रयोग गरेका हौदा यहाँ सुरक्षित छन्। सन् १९६१ (विसं२०१७) मा राजा महेन्द्रको निमन्त्रणामा नेपाल भ्रमणमा आउँदा तत्कालीन बेलायती महारानी एलिजावेथले उक्त हौदा प्रयोग गरेर चितवन र पर्साका जङ्गलमा बाघ तथा गैंडाको सिकार गरेकी थिइन्। तर यसरी ऐतिहासिक सम्पत्ति राखिएको संग्रहालयको संरक्षणमा भने राज्यको ध्यान पुग्न सकेको छैन।

यो संग्रहालय सव डिभिजन वन कार्यालय, मकवानपुरको रेखदेखमा रहे पनि यसको उचित प्रचारप्रसार र प्रवर्द्धन हुन नसकेको कार्यालयका रेञ्जर रञ्जन अर्याल बताउँछन्। उनका अनुसार संग्रहालयको ढोका खोल्न, बन्द गर्न र सुरक्षामा एकजना कर्मचारी खटाइएको छ। त्यसबाहेक प्रचार गर्ने, जानकारी दिने लगाएतको कार्य भने शून्य रहेको उनी बताउँछन्।

उनका अनुसार केही समयअघि भीमफेदी गाउँपालिकासँगको सहकार्यमा हौदाहरू जोगाउनका लागि सिसाको बार लगाइएको थियो। प्रचारका लागि राखिएको डिजिटल बोर्ड बिग्रिएको छ।त्यसको मर्मतसमेत हुन नसकेको उनको भनाइ छ।

त्यसोत, २०३९ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारिएपछि यो ऐतिहासिक बजारको रौनक विस्तारै हराउँदै गयो। तर, यहाँ रहेका चिसापानी गढी, पृथ्वी–चन्द्र अस्पतालको पुरानो भवन, भीमसेन मन्दिर र हात्तीसार संग्रहालय जस्ता ऐतिहासिक धरोहरले भीमफेदीलाई जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्ने अपार सम्भावना बोकेको स्थानीय बताउँछन्।

प्रदेश मातहत ल्याएर डिभिजन वन कार्यालयबाट सामान्य मर्मत र व्यवस्थापनको कामबाहेक अन्य कुनै योजना कार्यान्वयनमा ल्याउन नसक्दा ऐतिहासिक हात्तीसार संग्रहालय बन्द कोठाभित्रै सिमित छ। तथापि, भीमफेदीकै चिनारी रहेको यस संग्रहालयको मर्मत संभार र संरक्षणका लागि भीमफेदी गाउँपालिकाले चासोका साथ काम गरिरहेको दाबी भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजीव श्रेष्ठ बताउँछन्।

उनका अनुसार २०७९ को स्थानीय तह निर्वाचन पश्चात् गाउँपालिकाले हात्तीसार संग्रालयको प्रचार प्रसार तथा संरक्षणका लागि गुरु योजना बनाएको छ। ‘भीमफेदीको यो हात्तीसार यहाँको मात्रै नभएर मकवानपुरै ऐतिहासिक सम्पत्ति हो, जसको संरक्षण र प्रचार गर्न हामीले योजना बनाएका छौं,’ उनले भने, ‘यसको प्रचार गर्न भीमफेदी बजारको दुईठाउँमा प्रचार बोर्ड राख्ने, चिसापानी गढीदेखि हात्तीसारसम्म जीपलाइन बनाउने लगाएतको विषयमा छलफल भएको थियो। यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौं।’

यस संग्रहालय अधिकांश समय ताल्चा लगाएर राखिन्छ। अवलोकनकर्ता पुगेमा मात्र ताल्चा खोलेर अवलोकन गराउने प्रचलन छ। संग्रहालयभित्र रहेका हौदा, हात्ती बाँध्ने खम्बा, पुराना काठी लगाएत हात्ती सम्बन्धी विभिन्न औजारहरूकोे नाम उल्लेख गरेर राखिए पनि यसको सुरक्षाको लागि कुनै ठोस कदम चालेको देखिँदैन।

मकवानपुर बागमती प्रदेशको राजधानी जिल्ला समेत हो। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले यस्ता मूर्त अमूर्त सम्पदाहरूको संरक्षण, प्रवर्द्धन तथा प्रचार प्रसारमा लाखौँ बजेट विनियोजन गर्दै आएको छ। तर राजधानीबाट २१ किलोमिटरको दूरीमा रहेको ऐतिहासिक सम्पदाको विषयमा भने यो मन्त्रालय पनि अनविज्ञ छ।

हालसम्म यस हात्तीसार संग्रहालयको लागि बजेट विनियोजन नभएको जानकारी दिँदै पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले हात्तीसार संग्रहालयको विषयमा आफूलाई ज्ञान नभएको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा त्यस संग्रहालयको लागि कुनै शीर्षकमा बजेट राखिएको छैन।

‘यस विषयमा त्यति ज्ञान पनि भएन, उनले भने, ‘चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको अथवा संरक्षणका लागि कुनै कार्यक्रम छैन। आगामी आर्थिक वर्षको लागि मन्त्रालयले ध्यानमा राखेर कार्यक्रम अगाडि बढाउँछ।’

सरोकारवाला निकायले संग्रहालयको नियमित सञ्चालन, व्यवस्थित प्रचारप्रसार र यहाँको ऐतिहासिक कथालाई रोचक ढंगले प्रस्तुत गर्न सकेमा मात्र पर्यटकका लागि एक आकर्षक गन्तव्य बन्न सक्ने मकवानपुरका इतिहासविद्हरू बताउँछन्।

 

प्रतिक्रिया