एकराज उप्रेतीको आग्रह–एमाले नेतृत्वमा भएका कामहरु नजिकैबाट हेरिदिनू

पालिका डायरी
२२ कार्तिक २०८२, १९:३०

मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले आफ्नो नेतृत्वमा भएका विकास निर्माण कार्यबारे जनता जानकार रहेको दाबी गर्नु भएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहनु भएको उप्रेतीले आफ्नो कार्यकालमा मनहरी गाउँपालिकामा भएका भौतिक तथा सामाजिक विकासका कामहरुको मसिनो ढंगले बुझ्न आम जनतालाई आग्रह समेत गर्नुभयो ।

नेकपा एमाले मनहरी गाउँपालिका ८ नं वडा कमिटीले आयोजना गरेको जनभेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मनहरी गाउँपालिका ८ देवकोटस्थित भ्यूटावर परिसरमा आयोजित जनभेलामा सहभागी हुँदै उहाँले भन्नुभयो–‘पर्सा राष्ट्रिय निकुन्ज क्षेत्र, मनहरी गाउँपालिकाका राप्तीपारितर्फका मनोरम गाउँबस्ती तथा र राक्सिराङतर्फका गाउँबस्ती र हिमाली क्षेत्रहरु हेर्नका लागि यो भ्यूटावर निर्माण थालेका थियौँ । यो अझै अपूरो रहेछ ।’

देवकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भ्यूटावर र पार्कको अवधारणा अघि बढाइएको बताउँदै उहाँले अहिले सडक कालोपत्रे भएसँगै देवकोट क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको बताउनुभयो ।

हामीले बोलेको कुरा पूरा हुँदै गएको छ’, उप्रेतीले भन्नुभयो–‘सिमपानीमा रामहरि सुवेदीको घरमा बसेर बनाइएको सिमपानी–देवकोट–सरिखेत सडक खण्ड निर्माण योजना सम्पन्न भइरहँदा यसले पारेको आर्थिक, सामाजिक र भौतिक विकासले आत्मसन्तुष्टि दिएको छ ।’ तत्कालीन सांसद विरोध खतिवडा, केदार न्यौपाने लगायतले उक्त सडक खण्ड निर्माणका लागि योगदान गर्नु भएको थियो ।

एमालेको नेतृत्वमा मनहरीमा ठूला र पक्की पुल निर्माणसहित सयौँ राम्रा कामहरु भएको भन्दै त्यसलाई गलत प्रचार गरेर जसल लिन खोजिएको उहाँको भनाई थियो ।

‘हाम्रो पार्टीले नेतृत्व लिँदा सामाजिक, आर्थिक र भौतिक विकासमा योगदान भएको छ’, अध्यक्ष उप्रेतीले भन्नुभयो–‘अब जनताले फेरि स्थानीय सरकारमा एमालेको अभाव महसुस गरेका छन्, जनतालाई त्यस्तो महसुस हुन नदिनेगरी पार्टीका कामहरु अघि बढाउन जरुरी छ ।’

एक अर्काे प्रसंगमा उहाँले देवकोटमा निर्माण भएको भ्यूटावरको पाँचौ तल्लामै छत ढलान गर्ने कार्य अनुचित रहेको बताउनुभयो । उहाँले तत्कालीन समयमा डिपिआर निर्माण गर्ने क्रममा ५ तलामात्रैको गरिएको र भविष्यमा त्यसलाई सुधार गरेर ७ देखि ९ तल्लासम्मको बनाउने योजना रहेको बताउनुभयो ।

अहिले नै छत ढलान गर्दा पाँचतल्लाभन्दा माथि लैजान समस्या हुने भएकाले त्यो कार्य गरिएको पाइएको उहाँको गुनासो थियो ।

नेकपा एमाले ८ नं वडा कमिटी अध्यक्ष यादव प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष दिलबहादुर स्याङतान, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज शिवकुमार काशीसहित विभिन्न कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

जनभेलाले पार्टीका आगामी गतिविधिहरुलाई तीब्र बनाउँदै लैजाने निर्णय गरेको छ । जेनजी आन्दोलनपछि मनहरी गाउँपालिका ८ नं वडामा पहिलोपटक पार्टीको सार्बजनिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया