शारदा माविको स्वर्ण महोत्सव, एक सातासम्म ५८ वटा कार्यक्रम गरी मनाइने

पालिका डायरी
२२ कार्तिक २०८२, १९:१९

हेटौंडा / मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव भव्य रूपमा मनाउने भएको छ। विद्यालयले मङ्सिर १ गतेदेखि ७ गतेसम्म एक साता विभिन्न ५८ वटा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले जानकारी दिए अनुसार, स्वर्ण महोत्सवको अवसरमा जिल्ला, गाउँपालिका र विद्यालय स्तरका विविध कार्यक्रम तय गरिएको छ। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमहरूको विवरण सार्वजनिक गरिएको हो।

विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीका अनुसार, महोत्सवको अवसरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँपालिका स्तरीय खुला चेस प्रतियोगिता, पूर्व विद्यार्थी मित्रता मिलन कार्यक्रम, विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण शिविर, विद्यालय वृत्तचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन तथा प्रदर्शनी, स्वर्ण जयन्ती गीत (विद्यालय गीत) निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण, विद्यालय स्मृतिचिन्ह तथा स्वर्ण जयन्ती शिलापत्र अनावरण, अभिभावक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिनेछ।

प्रधानाध्यापक कार्कीले विद्यालयको स्वर्ण महोत्सवलाई एक उत्सवका रूपमा मनाइने बताएका छन।

मकवानपुरगढी गाउँपालिका–५ का वडा अध्यक्ष दिपेश दाहालका अनुसार, विद्यालयले अघिल्ला दिनमा देउसी–भैलो कार्यक्रम सञ्चालन गरी करिब १३ लाख रुपैयाँ संकलन गरेको थियो। सो रकममध्ये केही स्वर्ण महोत्सवका तयारीका लागि प्रयोग गरिने र बाँकी रकम विद्यार्थी छात्रवृत्ति कोषमा विनियोजन गरिने बताएका छन ।

प्रतिक्रिया