एकीकृत समाजवादीका कार्यकर्तालाई पुरानो घर फर्किन एमाले उपाध्यक्ष लामाको आग्रह

पालिका डायरी
२२ कार्तिक २०८२, १३:१४
घर जले पनि सत्कर्म कहिले छोडिन्न : उपाध्यक्ष लामा

हेटौंडा /  एमालेले राष्ट्रिय स्वाधीनता र समृद्धिको नेतृत्व गर्न सक्षम रहेको दाबी गर्दै उपाध्यक्ष हिमल लामाले आज एक अपिल जारी गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा रहेका कार्यकर्ताहरूलाई पुनः एमालेमै फर्किन हार्दिक अपिल गरेका छन्।

जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामाले हस्ताक्षर गरेको अपिलपत्रमा नेकपा एमाले नै नेपालको राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको मुख्य वाहक शक्ति भएको उल्लेख गरिएको छ।

भदौ २३–२४ गतेको जनआन्दोलन र त्यसपछिका घटनाले पार्टीको दृढता र जनसमर्थन प्रमाणित गरेको जनाइएको छ। अपिलमा भनिएको छ, “एमालेमाथि विदेशी शक्तिहरूले प्रहार गर्न खोजिरहेका बेला पार्टीलाई कमजोर बनाउने प्रयास राष्ट्रिय स्वाधीनतामाथिको आक्रमण हो।”

त्यसैले एमाले मकवानपुरले समाजवादीमा आवद्ध आफ्ना पूर्वकमरेडहरूलाई पार्टी निर्माणमा पुनः सक्रिय हुन र पुरानो घर फर्किन आह्वान गरेको हो। अपिलमा थप भनिएको छ, “विश्वासमा परीक्षित तपाईंहरूको योगदान, राजनीतिक कुशलता र निरन्तरता नेकपा एमालेमै सम्भव छ भन्ने हाम्रो विश्वास छ।”

एमाले मकवानपुरले एकता, स्थिरता र राष्ट्रिय स्वाभिमानको पक्षमा सबै कार्यकर्तालाई संगठित रूपमा अघि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया