अंशको विवादमा छोराले गरे बुबाको हत्या
पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा छोराले चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन् । ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुबा युवराजको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार सन्देशले मदिरा सेवन गरेका बेला बुबासँग अंश (सम्पत्ति बाँडफाँट)सम्बन्धी विषयमा विवाद भएपछि चिर्पट प्रहार गरी हत्या गरेका हुन् । मदिरा खाएको अवस्थामा छोरालाई अंश नदिने कुरा गरेपछि विवाद चर्किएको र सोही क्रममा हत्या भएको डीएसपी अनिष कर्णले जानकारी दिए ।
घटनापछि युवराज राईको शव घर नजिकैको करेसाबारीमा फेला परेको थियो । घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देश राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । मृतकको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घरमा बुबा र छोरा मात्र बस्दै आएका थिए ।
प्रतिक्रिया



