मुख्यमन्त्री बानियाँको व्यक्तिगत खर्चले बनाइदिए मिठ्ठुमायाको घर

पालिका डायरी
२ कार्तिक २०८२, १७:०३

हेटौंडा / गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आफू नेतृत्वको पहलिो मन्त्रीपरिषद् बैठकमा आफ्नो सेवा सुविधा वापत्को रकम नागरिकको सेवामा खर्चने निर्णय गरेका थिए । सोही अनुरुप आफ्नो निर्वाचन क्षेत्रका तीन जना अति विपन्न परिवारको घर निर्माण गरिदिने निर्णय गरेका मुख्यमन्त्रीले पहिलो घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका छन् ।
१४ वर्षको कलिलो उमेरमा बिवाह बन्धनमा बाँधिएकी मिठ्ठुमायाले १५ वर्षकै उमेरमा छोरालाई जन्म दिइन् । जेठो छोरा पछि तीन छोरा र एक छोरी जन्मिए । श्रीमान्को मृत्यु भएको ७ वर्ष बित्यो । श्रीमान्को मृत्युपछि छोराछोरीको हेरचाह, स्याहार सुसारको जिम्मेवारी काँधमा बोकेकी मिठ्ठुमाया नयाँ घरमा बस्न पाउँदा खुसी देखिएकी छिन् ।

त्यसोत, मुख्यमन्त्री बानियाँलृ आफ्नो व्यक्तिगत तथा राज्यबाट प्राप्त हुने सुविधाको रकमबाट घर निर्माण गरी हस्तान्तरण गरिएको बताउँछन् । मानवताको सेवा नै आफ्नो राजनीतिको मूल मर्म भएको भन्दै आफ्नो तलब सुविधा र अपुग भएको अवस्थामा व्यक्तिगत खर्चले समेत निर्वाचन क्षेत्रमा तीनजनाको घर बनाउन सुरु गरिएको मख्यमन्त्री बानियाँको दाबी छ ।

दुखको जीवन बिताइरहेकी उनको घर बनाइदिन मनहरी गाउँपालिकाका जनप्रतिनिधिले सिफारिस गरेका थिए । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पनि आफ्नो तलब सुविधा वापत्को रकमले गाउँपालिकामा रहेका विपन्न परिवारको लागि घर निर्माण गर्दै आएका छन् । यसअघि एउटा घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेका उनले मिठ्ठुमायाको घर बनाइदिन मुख्यमन्त्री बानियाँ समक्ष सिफारिस गरेका थिए । उनकै सिफारिसका आधारमा मिठ्ठुमायालाई तीनकोठे पक्की घर, शौचालय सहितको संरचना निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष कालाखेती बताउँछन् ।

त्यसोत, घर हस्तान्तरण कार्यक्रममा पुगेकी बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले पनि आफ्नो व्यक्तिगत खर्चबाट मिठ्ठुमायाको परिवारलाई भान्सामा प्रयोग हुने सामानहरु र चामल सहयोग गरिन् । राजनीतिमा लाग्नु नै समाजसेवामा लाग्नु भएको बताउँदै मन्त्री रायमाझीले चामल लगाएत सामाग्रीहरु वितरण गरेको बताउँछिन् ।

मिठ्ठुमायाको घर बनाउन ७ लाख रुपैँयाको सरकारी लागत अनुमान गरिएको थियो । मुख्यमन्त्री बानियाँको पहल र स्थानीयको श्रमदान मार्फत तयार भएको घर निर्माण सामाग्रीमा सहुलियत पाएसँगै ४ लाख ६५ हजार रुपैँया खर्च भएको बताइएको छ ।
बानियाँको निर्वाचन क्षेत्र राक्सीराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङका लागि निर्माण भइरहेको घर अन्तिम चरणमा पुगेको र उक्त घर कात्तिक महिनामै हस्तान्तरण गरिने तयारी छ भने कैलाश गाउँपालिका– ४ धुस्राङका ५० वर्षीय लालकुमार प्रजा चेपाङ परिवारका लागि नयाँ घर निर्माण भइरहेको छ । दुवै घर निर्माणका लागि उनले गत १६ भदौमा घर निर्माण समितिलाई पहिलो किस्ताबापत दुई–दुई लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।

प्रतिक्रिया