अखिल क्रान्तिकारी कपको उपाधि तासिर एकेडेमीलाई
हेटौंडा / अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा हेटौँडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साइड अन्डर–१६ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि तासिर एकेडेमीले जितेको छ।
मंगलबार हेटौँडाको पिप्ले क्याम्पा रंगशालामा सम्पन्न फाइनल खेलमा तासिर एकेडेमीले रस्सल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तासिर एकेडेमीका अक्षय डंगोल घोषित भए। उत्कृष्ट गोलरक्षक तासिरकै सुदन मैनाली बने भने उच्च गोलकर्ता तासिरका एलेक्स आचार्य भए। उनले प्रतियोगिता अवधिभर ३ गोल गरेका थिए। विधागत उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो।
उपाधि विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, महाधिवेशन आयोजक समिति सदस्य विजय गौतम, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रीन, बागमती प्रदेश सचिवालय सदस्य वीरबहादुर घलान (ज्वाला), सदस्य विवेक राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी, सदस्य होमनाथ चौलागाईं (यादव), अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य राजेन्द्र मोक्तानलगायतको आतिथ्यता रहेको थियो।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा ८ विद्यालयको सहभागिता रहेको थियो।


