वक्तृत्वकलामा सुवेदी उत्कृष्ट

पालिका डायरी
२८ आश्विन २०८२, १५:४५

चैनपुर जेसीज मनहरीले आयोजना गरेको महेन्द्रकिरण मावि, मनहरी–८ का विद्यार्थीबीचको वक्तृत्वकलामा डिनिपा सुवेदी प्रथम भएकी छिन्। जेसीज सप्ताहअन्तर्गत मंगलबार बिहान कक्षा ११ र १२ का नौ जना विद्यार्थीबीच भएको ‘परिवर्तनका लागि युवा’ विषयक वक्तृत्वकलामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै सुवेदीले प्रथम स्थान हासिल गरेकी हुन्।

प्रतियोगितामा सुस्मिता मल्ल द्वितीय र कुशल अधिकारी तृतीय स्थानमा रहेका छन्। चैनपुर जेसीज मनहरी वर्ष २०२५ का अध्यक्ष कृष्णप्रसाद ढकालको पहलमा ‘परिवर्तनका लागि युवा’ विषयमा महेन्द्रकिरण माविका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा मनहरी गाउँपालिकाका स्रोत शिक्षक बिदुरविक्रम थापा, विद्यालयका प्रधानाध्यापक कविता लामा र जेसीजका निवर्तमान अध्यक्ष रविन ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम संयोजक सन्तोष ढकालको संयोजनमा र जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–८ का वडाध्यक्ष नारायण उप्रेती प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा सहायक प्रधानाध्यापक रेखाकुमारी लामा, नरहरी कार्कीलगायतको आतिथ्यता रहेको थियो। प्रमुख अतिथि उप्रेतीले जेसीजले सबै क्षेत्रलाई समेट्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गर्दै सहकार्यका लागि सदैव तयार रहेको बताए।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीलाई जेसीज सप्ताहको समापनको दिन क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मिलन ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया