३४ लाख बराबरको भन्सार छलिएको कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद
हेटौैडा / मकवानपुर प्रहरीले ३४ लाख रुपैयाँ बराबरको भन्सार छलि गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शुक्रबार (आज) बिहान ४ जेतिरको समयमा हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे नजिक पूर्व–पश्चिम सडक खण्डमा चेकजाँचका क्रममा उक्त परिमाणको कपडा र पटका फेला पारेको हो। बिरगंजबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडी रोकेर चेकजाँच गर्ने क्रममा फला परेको सामाग्री प्रहरीले बरामद गरेको जनाएको छ।
सामाग्री सहित गाडी चालक रौतहट, बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई पक्राउ गरिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
गाडीको पछाडि लुकाइ–छिपाइ ल्याइएका १३० थान साडी, ६९६ थान कुर्ता र १७५ थान टप्स गरी १ हजार १ थान कपडाको मूल्य करिब १४ लाख रुपैयाँ रहेको बताइएको छ। साथै, सोही गाडीमा प्रतिबन्धित पटकाजन्य झिरझिरे पदार्थलगायत करिब २० लाख रुपैयाँ बराबरका सामान समेत फेला परेका छन्।
प्रहरीका अनुसार बरामद सामान र पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।


