दशैँ बिदापछि भीमफेदीका धेरै विद्यालयहरू अझै सञ्चालनमा आएनन्

पालिका डायरी
२३ आश्विन २०८२, १२:०७
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, भीमफेदीलाई कति ?

हेटौंडा / दशैँ पछि भीमफेदीका विद्यालयहरू क्रमशः खुल्दै आएका छन्। तर धेरै विद्यालयहरूले विद्यार्थी र शिक्षकको न्यून उपस्थित जनाउँदै तिहार र छठपछि मात्र पठनपाठन सुरु गर्ने तयारी गरेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा दशैँ बिदा सकिएसँगै पठनपाठन सुरु हुन थालेको हो। यद्यपि, गाउँपालिकाभित्रका सबै विद्यालयहरू हालसम्म नियमित रूपमा सञ्चालनमा आउन सकेका छैनन्।

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख चक्र साउदका अनुसार केही विद्यालयहरूले विद्यार्थीको न्यून उपस्थिति र शिक्षकहरूको अनुपस्थितिका कारण तत्काल अध्ययन–अध्यापन सुरु गर्न कठिनाइ भएको बताएका छन्। उनले भने, “गाउँपालिकाले विद्यालय सञ्चालनका लागि निर्देशन दिएको भए पनि केही विद्यालयका प्रधानाध्यापकहरूले यो बिदालाई पछि अन्य बिदामा मिलाउने भन्दै तत्काल पठनपाठन सुरु गर्न आनाकानी गरेका छन्।”

साउदका अनुसार, केही विद्यालय भने विद्यालय व्यवस्थापन समिति र सम्बन्धित वडा अध्यक्षको पहलमा असोज २२ गतेदेखि नै नियमित रूपमा पठनपाठन सञ्चालनमा आएका छन्। उनका भनाइमा, लामो बिदापछि विद्यार्थी र शिक्षकहरू अझै गाउँबाहिर वा आफन्तकहाँ रहेका कारण विद्यालय सञ्चालनमा केही कठिनाइ भएको छ।

शिक्षा शाखाले यस विषयमा सम्बन्धित वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवारीपूर्वक विद्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको जनाएको छ। स्थानीय विद्यालयहरूले स्थानीय परिस्थिति, मौसम र विद्यार्थी उपस्थिति हेरी पढाइ सुचारु गर्ने तालिका बनाएर विद्यालय सञ्चालन गर्दै आएको बताएका छन्।

यसैबीच, अभिभावकहरूले लामो बिदाका कारण बालबालिकाको अध्ययनमा असर परेको गुनासो व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, विद्यालयहरूले शैक्षिक कार्यतालिकाअनुसार नियमित रूपमा पठनपाठन सञ्चालन नगर्दा विद्यार्थीहरूको सिकाइस्तरमा गिरावट आएको छ।

अभिभावकहरूले भने, “अब विद्यालयहरूले निर्धारित कार्यतालिका अनुसार अध्ययन–अध्यापन पुनः सुरु गरी सिकाइ सुदृढीकरणमा ध्यान दिनुपर्छ,” भन्दै स्थानीय तहले विद्यालय सञ्चालनमा कडाइ गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया