हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका ७ कोगटेमा रहेको श्री सृजनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
सहकारीमा हाल ४३० जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी रु. ५९ लाख ९५ हजार ३ सय, बचत संकलन रु. ४ करोड ५४ लाख ६१ हजार ८ सय तथा ऋण लगानी रु. ४ करोड २ लाख ४२ हजार ६ सय रुपैयाँ तथा संस्थाको कुल सम्पत्ति रु. ६ करोड ५३ लाख १४ हजार रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
कार्यक्रममा यस वर्षको एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै संस्थाका वृद्ध शेयर सदस्यहरूलाई पनि सम्मान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको थियो।
सभामा केही सदस्यहरूले ऋण लिएर समयमा भुक्तानी नगर्ने वा ऋण रकम सहि प्रयोजनमा प्रयोग नगर्ने प्रवृत्तिले अन्य सदस्यहरूलाई असहजता हुने गरेको भन्दै ऋण असुलीका लागि अझ सशक्त नीति आवश्यक रहेको सुझाव दिएका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै अध्यक्ष चन्द्रकला सुनुवारले सहकारीको पारदर्शिता, अनुशासन र सहकारी संस्कृतिमार्फत अझ समृद्ध र स्वावलम्बी समाज निर्माण गर्न सकिने बताइन्।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य मिठुमाया ओली को प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरूमा सीता घलान, कान्छिमाया पिठाकोटे, राम्प्यारी पुलामी, सानूमाया ठाडा र अन्य शेयर सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक सानुकान्छी सिजाली मगरले गरेकी थिइन्।


