वर्षाका बेला नजाऊ भन्दाभन्दै लाङटाङ घुम्न गएका थिए गोसाइँकुण्डमा बेपत्ता ३ दिदीभाइ
भक्तपुरबाट रसुवाको लाङटाङ घुम्न जाँदा शनिबार साँझ खोलाले बगाएर बेपत्ता ४ युवा अहिले (मंगलबार बिहान) सम्म भेटिएका छैनन् ।
लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–४ दधिकोटका २६ वर्षीया संगीता श्रेष्ठ, उनका बैनी २४ वर्षीया संस्कृति र भाइ २० वर्षका किसन श्रेष्ठ तथा भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ हराइरहेका छन् । आइतबार र साेमबार दिनभर खोजी गर्दा पनि उनीहरूलाई फेला पार्न नसकिएको रसुवा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
‘आइतबार बिहानैदेखि सिडिओ साबसहितको टोली घटनास्थल खटिएका थियौँ, तर फेला पार्न सकिएन’ उनले भने, ‘घटना घटेको बेरिङ खोल्सा निकै ठाडो छ । त्यसमा पनि खोँचहरू छन् । त्यहाँबाट २ सय मिटर तल लाङटाङ खोला छ । त्यो हिमालबाटै आएको खोला भएका कारण पानीको बहाब पनि ठूलो छ । लाङटाङ खोला अलि तल आएपछि त्रिशूली नदीमा मिसिएको छ । त्यो कारणले पनि भेट्न मुस्किल भइरहेको हो ।’
उनीहरू दसैँको टीकाको दिन (असोज १६ गते) घर र आफन्तहरूकोमा टीका लगाएर भोलिपल्ट १७ गते बिहानै लाङटाङ जान भक्तपुरस्थित घरबाट निस्किएका थिए । रोटरी क्लब अफ भक्तपुरमा आबद्ध उनीहरू क्लबको टिमसँगै भ्रमणमा गएका थिए ।
बेपत्ता संस्कृतिका काका केशव श्रेष्ठका अनुसार १६ जनाको टोली हायस गाडी रिजर्भ गरेर गएका थिए । ‘पानी पर्ने मौसम पूर्वानुमान छ, नजाओ भनेर दाइ-भाउजूले भन्नुभएको थियो रे, केही हुन्न, ग्रुप नै जानी हो भनेर निस्किएका रहेछन्’, उनले भने, ‘उनीहरूसँगै गएकी सनिताले फोन गरेर ४ जनालाई बाढीले बगाएको खबर गरेकी थिइन् । जसमा हाम्रै परिवारका मात्र तीन जना छन् ।’
सनिता पनि संगीताकै परिवारकी हुन् । उनी भने सकुशल छिन् । उनीहरू चारै जना भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट निवासी कृष्णबहादुर श्रेष्ठका छोराछोरी हुन् । सनिताले बताएअनुसार सुरुमै उनीहरू ४ जना हात समाएर खोल्सा तर्न खोज्दा बाढीले बगाएको हो ।
बाढी-पहिरो आउने समाचार आइरहेको छ, अहिले नजाऊ भन्दाभन्दै उनीहरू अटेर गरेर निस्किएको केशव बताउँछन् । उनीहरूसँगै बेपत्ता रवि श्रेष्ठ भक्तपुरकै कमलविनायकमा जुत्ता पसल सञ्चालन गर्ने भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले जानकारी दिए । उनका अनुसार बेपत्ता रवि भक्तपुर नगरपालिका-१० का राजु श्रेष्ठका एकमात्र छोरा हुन् । उनकी एक दिदी छिन् ।
वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाका अनुसार रविलाई पनि उनका परिवारले नजान पटक-पटक सम्झाएका थिए । तर साथीहरूसँग ट्रेकिङ जाने प्लान पहिल्यैदेखि बनाएको भन्दै जिद्दी गरेर गएको रविका बावु राजुले आफूलाई बताएको वडाध्यक्ष ह्यौंमिखाको भनाइ छ ।
बाढीले बगाउँदा बेपत्ता उनीहरूको खोजीमा सिंगो सुरक्षा संयन्त्र नै लागिपरेको रसुवा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । उनका अनुसार खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित जिल्लाका सबै सुरक्षा संयन्त्र खटिएका छन् ।



