ऊर्जामन्त्री घिसिङद्वारा भार प्रेषण केन्द्रको अनुगमन, छिनछिनमा बत्ती जाने समस्या समाधानमा प्राथमिकता

पालिका डायरी
२१ आश्विन २०८२, १२:३०

ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन गरी देशभरको विद्युत आपूर्तिको अवस्था बारे जानकारी लिएका छन् ।

अनुगमनका क्रममा मन्त्री घिसिङले देशभर छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले विद्युत प्रणालीलाई अझ भरपर्दो, सुरक्षित, गुणस्तरीय र आधुनिक बनाउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधार योजना तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

मन्त्री घिसिङले हालको बाढी र पहिरोले क्षति पुर्‍याएका प्रसारण लाइन तथा संरचनाको मर्मतसम्भार गरी शीघ्र विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन आदेश दिए । साथै, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाउन निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले मन्त्रीलाई विद्युत उत्पादन, माग, आपूर्ति, निर्यात र प्रणाली सञ्चालनको अवस्थाबारे जानकारी गराएका थिए । कार्यकारी निर्देशक सिलवालले क्षतिग्रस्त संरचनाको मर्मतका लागि टोलीहरू तयारी अवस्थामा रहेको र विद्युत् आपूर्ति सहज बनाउन निरन्तर प्रयास भइरहेको बताए ।

प्रतिक्रिया