कान्ति लोकपथ एकतर्फी खुल्यो

पालिका डायरी
२० आश्विन २०८२, १६:३६
कान्ति लोकपथ एकतर्फी खुल्यो

अविरल वर्षापछि अवरुद्ध रहेको प्रदेश राजधानी हेटौंडालाई संघीय राजधानीसँग जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालनमा आएको छ ।

गत शुक्रबार रातिदेखि परेको पानीले लोकपथअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो पन्छाउने क्रममा बकैया गाउँपालिका– ११, घट्टेपाखा सिमात घुम्तीमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालन आएको हो ।

हाल लोकपथ एकतर्फी सञ्चालन गरिएको छ । साँझसम्म कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरू सोमबार बिहानैदेखि कान्ति लोकपथ सञ्चालनका लागि पहिरो गएको क्षेत्रमा पुगेका थिए ।

कान्ति लोकपथअन्तर्गत ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठुला पहिरोहरू शुक्रबार नै पन्छाइएको थियो भने हेटौँडादेखि बगुवा खोलासम्म नै खसेका साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू आज दिनभरिमा पन्छाइएको हो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले तत्काल हेटौंडाबाट काठमाडौं जाने सबै मार्गहरू सञ्चालनमा आएको बताइन् । उनले सबै मार्गहरू सञ्चालनमा आए पनि खतरा भने कायमै रहेकाले सुरक्षित भएर यात्रा गर्न यात्रु र चालकहरूलाई आग्रह गरिन् ।

प्रतिक्रिया