कान्ति लोकपथबाहेक हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक खुला

पालिका डायरी
२० आश्विन २०८२, १३:२४
photo/ aash bahadur lama

बागमती प्रदेशको राजधानी हेटौँडाबाट केन्द्रीय राजधानी काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुलेका छन्। यसअघि वर्षा र बाढीका कारण यी सडक बन्द थिए।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक र त्रिभुवन राजपथ बिहानैदेखि खुलेका थिए भने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडकमा पनि दिउँसो १२ बजेदेखि गाडी चल्न थालेका हुन्।

यसअघि यो सडक, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, डोढारेमा बाढीले बगाउँदा असोज १८ देखि बन्द थियो। मर्मतपछि हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँमा पनि आजदेखि  सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सवारी चापलाई ध्यान दिएर काठमाडौँ भित्रिने सवारीसाधनलाई सिस्नेरी–दक्षिणकाली हुँदै जान भनिएको छ भने हेटौँडातर्फ आउने गाडीलाई फाखेल–कुलेखानीको सडक प्रयोग गर्न आग्रह गरिएको छ।

हेटौँडाबाट काठमाडौँ पुग्ने कान्ति लोकपथ भने अझै बन्द छ। मकवानपुरतर्फ चार ठाउँमा पहिरो गएको र पन्छाउन बाँकी रहेका कारण उक्त सडकमा अझै यातायात सञ्चालन हुन नसकेको हो।

हेटौँडा-काठमाडौँ आवतजावतका लागि नारायणगढ हुँदै प्रयोग गरिने सडक पनि खुला भइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया