बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार

पालिका डायरी
१९ आश्विन २०८२, १७:५५
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई २ लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको नि:शुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इ.दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पुर्‍याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्‍याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ ।

‘भर्खरै इलाममा बढी क्षति पुगेका कारण त्यहाँ हामीले  ७० लाख उपलब्ध गराएका छौँ । अन्य जिल्लामा भने यसअघि नै जिल्ला विपत् कोषमा पैसा पर्याप्त रहेका कारण सोहीबाट खर्च गर्न निर्देशन दिएका छौँ’, उनले भने ।

प्राधिकरणले तत्काल सहयोग उपलब्ध गराउन तथा खोज उद्धार र राहत पुनर्स्थापनाका कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुलाई निर्देशन दिएको हो।

प्रतिक्रिया