काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन २० गतेसम्मका लागि बन्द
निरन्तर वर्षा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) देखि ३ दिनसम्मका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएको हो।
सूचनमा भनिएको छ, ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुनसमेत सूचित गरिन्छ।’




