मकवानपुरमा तीन दिन राति सवारी आवागमन बन्द
हेटौंडा / मौसमीय जोखिमलाई मध्यनजर गर्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले तीन दिन रातिको समयमा सवारी साधन सञ्चालन रोक्ने निर्णय गरेको छ।
प्रशासनको निर्णयअनुसार हेटौंडा हुँदै ललितपुर निस्कने कान्तिलोकपथमा भोलि असोज १७ गते बेलुकी ४ बजेदेखि २० गते बिहान ६ बजेसम्म अर्थात रातको समयमा सवारी आवागमन बन्द रहनेछ। यस्तै, हेटौंडा–भैँसे–काठमाडौं सडक खण्डमा भने असोज १७ गते बेलुकी ५ बजेदेखि २० गते बिहान ६ बजेसम्म सवारी सञ्चालन रोक्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्।
मौसम विज्ञान विभागले असोज १५ गते जारी गरेको पूर्वानुमान सूचनामा उच्च वर्षा र पहिरोको सम्भावना रहेको चेतावनी दिएकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
त्यसैगरी, नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई धनजनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् व्यवस्थापन र पूर्वतयारीमा समन्वय गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन्।



