रुकुमपश्चिमबाट दाङ जाँदै गरेको गाडी सल्यानमा दुर्घटना, ३ जनाको मृत्यु
रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी आज आइतबार बिहान सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहान करिब ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा फोर्स गाडी दुर्घटनामा परेको हो।
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराहीतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यस्तै अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष छन्। मृतकमध्ये एक जना बाँफीकोट गाउँपालिका-५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। अन्यको परिचय खुलेको छैन।
सडकबाट करिब तीन–चार सय मिटर तल खसेको फोर्समा पाँच जना सवार रहेको खुलेको छ। घाइतेमध्ये एक जना महिला र अर्का एक जना पुरुष छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ।



