जिफन्ट मकवानपुरद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
हेटौंडा / ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुर जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला हेटौंडास्थित बागमती प्रदेश हलमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जिफन्ट मकवानपुर जिल्ला अध्यक्ष शभु लामाले गरेका थिए भने जिफन्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई आफ्नो छोटो मन्तव्यसहित प्रलाद राईले उद्देश्यमाथि प्रकाश पारेका थिए भने ट्रेड युनियन जिल्ला समितिका सचिव मबोज सुवेदीले सञ्चालन गरेका थिए।
प्रमुख अतिथि श्रेष्ठले बदलिँदो राजनीतिक परिस्थितिमा ट्रेड युनियनको भूमिकाबारे स्पष्ट धारणा प्रस्तुत गर्दै सहभागीहरूलाई मार्गदर्शन गरे। उनले आउटसोर्सिङ प्रणाली तत्काल खारेज गर्नुपर्ने पक्षमा नभई, त्यसमा आवद्ध श्रमिकहरूलाई संगठित गर्दै युनियनलाई सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, श्रमसम्बन्धी ऐन तथा कानुनहरूको प्रभावकारी कार्यान्वयनका लागि श्रमिकहरू सजग र सक्रिय हुनुपर्नेमा जोड दिए।
श्रेष्ठले मर्यादित श्रमको ग्यारेन्टीका लागि श्रमिक संगठनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सहभागीलाई सचेतनासहित क्रियाशील हुन निर्देशन दिए। भेला श्रमिक अधिकार संरक्षण, संगठन विस्तार तथा सामाजिक सुरक्षाबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल, नेतृ गीता कार्की, अर्जुन ढुंगाना लगायतका नेताहरूको आतिथ्यता रहेको थियो।



