रेबिज नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री पौडेलको भनाइ
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले रेबिज नियन्त्रणलाई सरकारले अन्य कार्यक्रमसँगै प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
बुधबार हेटौँडास्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ‘रेबिज विरुद्ध जुटौंः तपाई हामी समुदाय’ भन्ने नारासहित आयोजना गरेको सचेतनामूलक कार्यक्रममा मन्त्री पौडेलले रेबिज प्राणघातक भए पनि खोप, सरसफाइ र जनचेतनामार्फत यसलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने उल्लेख गरे । उनले विद्यालय, समुदाय र पशु स्वास्थ्य सेवामार्फत खोपको पहुँच बढाउन र सचेतना फैलाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा निर्देशनालयकी पशु विकास अधिकृत डा. सलिना श्रेष्ठले नेपालमा प्रत्येक वर्ष करिब एक सय नयाँ रेबिजका बिरामी देखिने तथ्य प्रस्तुत गरिन् । उनका अनुसार, संक्रमित जनावरमा लक्षण देखिएपछि सात दिनभित्र मृत्यु हुने गर्दछ । शंकास्पद जनावरले टोके वा चाटेमा घाउलाई १०–१५ मिनेट साबुनपानीले धुनु र तुरुन्त खोप लगाउनु अनिवार्य हुने उनको भनाइ थियो ।
चिकित्सकहरूले रेबिज लागिसकेपछि उपचार सम्भव नभएकाले खोप नै एक मात्र बच्ने उपाय भएको स्पष्ट पारे । उनीहरूले विशेष गरी कुकुरबाट बढी संक्रमण फैलिने भएकाले घरपालुवा कुकुरलाई हरेक वर्ष अनिवार्य खोप लगाउनुपर्नेमा जोड दिए । रेबिज लागेको कुकुरमा अत्यधिक र्याल चुहिनु, मुखबाट फिँज आउनु र अनावश्यक दौडधुप गर्ने जस्ता लक्षण देखिने पनि जानकारी दिइयो ।
नेपाल सरकारले सन् २०३० सम्म रेबिजजन्य मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएको छ । सो उद्देश्यअनुसार निर्देशनालयले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि विद्यालयस्तरमा सचेतना बढाउने लक्ष्यसहित असोज ७ गते निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट पाँच विद्यार्थीलाई बुधबारै पुरस्कृत गरिएको छ । कार्यक्रम निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठ, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेललगायतको उपस्थिति थियो ।


