दशैं लक्षित गर्दै हेटौंडामा सुपथ मूल्य बजार सुरु
हेटौंडा / नेपालीहरूको महान चाड दशैंलाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य संघको पहलमा मंगलबारदेखि सुपथ मूल्यको खाद्यान्न बजार सञ्चालनमा आएको छ।
बजारको औपचारिक उद्घाटन मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरेका हुन्। मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघ संयोजक रहेको यो बजार हेटौंडा–२, पल्पसा सदनमा सञ्चालन भएको हो। बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने बजार असोज ११ गते शनिबारसम्म चल्नेछ भने, आवश्यकताअनुसार अवधि थप गर्न सकिने आयोजकले जानकारी दिएका छन्।
सुपथ मूल्य बजारमा १६ वटा स्टलमार्फत चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठोलगायत दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराइएको छ। साथै दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार उपभोक्ताको मागअनुसार बजारमा मासुजन्य परिकार तथा अण्डा समेत थप्ने तयारी भइरहेको छ।




