एमालेद्धारा तोडफोड, आगजनी एवं लुटपाटको घटनाको भर्त्सना

पालिका डायरी
२ आश्विन २०८२, २१:१८

हेटौंडा  /  बागमती प्रदेशको नेकपा (एमाले) संसदीय दलको बैठकले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा भएको तोडफोड, आगजनी एवं लुटपाटको घटनाको भर्त्सना गर्दै सरकारसँग दोषीउपर कारबाहीको माग गर्ने निर्णय गरेको छ ।

आन्दोलनपश्चात पहिलोपटक बिहीबार हेटौंडामा बसेको नेकपा (एमाले) बागमती संसदीय दलको बैठकले आन्दोलनमा घुसपैठका कारण भौतिक तथा मानवीय क्षति भएको निष्कर्ष निकाल्दै, सरकारी निकाय, उद्योग प्रतिष्ठान एवं एमाले लगायत विभिन्न दलका नेताको घरमा तोडफोड, लुटपाट तथा आगजनी भएको भन्दै यस्ता घटनाको भर्त्सना गरेको हो ।

त्यसैगरी, बागमती एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक एकालाल श्रेष्ठ र पूर्वमन्त्री केशव प्रसाद पोखरेलको घरमा भएको तोडफोड, लुटपाट एवं आगजनीको घटनाप्रति खेद व्यक्त गर्दै दोषीउपर कारबाहीको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रदेश सरकारका मन्त्रालयहरू एवम् यसअन्तर्गतका कार्यालयहरू तथा प्रदेशसभा भवनमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै, यसलाई पुनर्निर्माण गर्न सम्पूर्ण विवरण संकलन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउन सबै पक्षमा अपिल समेत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया