जब सदन जल्यो, तब पदबाट भागे बागमतीका सभामुख पाठक
यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका दर्जनभन्दा बढी सरकारी संरचनामा आक्रमण भए । प्रायः सबै प्रदेश संरचना ध्वस्त भए । बागमती प्रदेशका १४ मन्त्रालयमध्ये १० वटामा आगजनी गरियो । चार मन्त्रालय भने मुस्किलले बचे ।
तत्कालीन क्षेत्रीय निर्देशनालयको कार्यालयबाट सञ्चालित प्रदेशसभाको पुरानो भवन र गत साउन २७ गते मात्र उद्घाटन गरिएको नयाँ भवन पनि जलाइयो । दिउँसो १ बजेतिर हेटौँडास्थित नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा पनि आगजनी भइसकेको थियो । अनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवासदेखि कार्यालयसम्म प्रदर्शनकारीको निसानमा परिसकेका थिए ।
राजनीतिक दलका कार्यालयहरूबाट सुरु तोडफोड र आगजनीले आधा घण्टाभित्र बागमती प्रदेशका आधा दर्जन मन्त्रालय आगोको मुस्लोमा परिसकेका थिए । दिउँसो करिब पौने २ बजे बागमती प्रदेशसभा भवन परिसरमा जेनजी समूहको प्रदर्शन सुरु भयो । केही बेरमै गेट फोडियो । भित्र रहेका सामान चोरिए । कर्मचारीका सवारीसधानमा आगजनी गरियो र अन्तमा प्रदेशसभा परिसरमा रहेका सबै भवनमा आगो लगाइयो ।
जब ऐन निर्माण गर्ने थलो प्रदेशसभा भवन जल्न थाल्यो, तब सभामुख भुवनकुमार पाठकले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे । प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट सभामुख बनेका पाठक तीन वर्षसम्म यो पदमा बसे । २०७९ पुस २८ मा सभामुख पदका लागि भएको निर्वाचनमा पाठकले ६२ मत पाएका थिए । एमाले, माओावदी केन्द्र र राप्रपाको साझा उम्मेदवार बनेका उनलाई कम्युनिस्टहरूकै मतले सभामुख बनाएको थियो ।
त्यसो त त्यतिबेला संघीयताविरोधी व्यक्तिलाई सभामुखको कुर्सी सुम्पिएको भन्दै उनको विरोध नभएको पनि होइन, तर सुरुवाती अवस्थामा केन्द्रदेखि प्रदेशसम्मै गठबन्धन सरकारमा सहभागी भएको राप्रपाले बागमतीमा सभामुखककै पद पायो । त्यसपछि सत्ता गठबन्धन फेरियो, तर पनि सभामुख पाठकको पद गएन । तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको प्रदेश सरकार हुँदा उनलाई हटाउने प्रयास त गरियो तर केही सांसदले साथ नदिँदा सफल हुन सकेन ।
सभामुख बनेपछि राजनीतिक दलबाट अलग भई स्वतन्त्र हुनुपर्ने प्रावधान भए पनि राप्रपाका महामन्त्री पाठकले पार्टीको सदस्यता त्यागेनन् । अन्य दललाई पेलेरै सदन चलाइरहे । आवरणमा गणतन्त्र रक्षकजस्तो देखिए पनि उनले सधैँ राजतन्त्र र राजावादी दललाई काखी च्यापिरहे । राप्रपा प्रदेश संसदीय दलको नेता उद्धव थापा भए पनि निर्णायक भूमिकामा पाठकले नै अधिकार जमाइरहे ।
प्रदेश खारेजीको माग बोकेर प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको राप्रपालाई सभामुख पाठकले मौन समर्थन गरिरहे । यसको बलियो उदाहरण हो- प्रदेश सरकारले गौरवका रूपमा मनाउने गणतन्त्र दिवस, संविधान दिवसजस्ता कार्यक्रममा कहिल्यै सहभागी भएनन् ।
हुन त जेनजी आन्दोलनलाई राप्रपाले खुलेरै समर्थन गर्यो । पाठकले मात्र होइन, राप्रपाबाट निर्वाचित १२ सांसदले नै राजीनामा दिए । राप्रपाका प्रवक्ता एंवम् पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भदौ २४ गते प्रेस विज्ञप्ति जारी गरी संसद् र संविधानको औचित्य समाप्त भएको भन्दै आफ्नो पार्टीबाट प्रतिनिधि सभा र प्रदेशसभामा रहेका सांसद सामूहिक राजीनामा दिने जानकारी गराए ।
यसै क्रममा बागमती प्रदेशका सभामुख पाठकले उक्त दिन दिउँसो २:४९ बजे फेसबुकमा स्टाटस लेखे । जसमा उनले भनेका थिए, ‘गह्रौँ तर दृढ मनले मैले बागमती प्रदेशसभाको सभामुखको पदबाट राजीनामा दिने निर्णय गरेको छु, सभामुखको हैसियतमा मैले सधैँ लोकतन्त्र र सभाको गरिमा जोगाउन प्रयास गरेँ । तर यस घडीमा नयाँ पुस्ताको न्यायोचित आकांक्षासँग ऐक्यबद्धता जनाउनु नै मेरो पहिलो दायित्व ठान्छु । यस कार्यकालमा मप्रति देखाइएको विश्वास सहयोग का लागि म आभारी छु । सभाले समयको मागअनुसार सत्यनिष्ठा र जिम्मेवारीसहित अघि बढोस् भन्ने मेरो शुभेच्छा छ ।’
उनले यो स्टाटस लेख्दासम्म प्रदेशसभा भवन जलिसकेको थियो । उनको यो कदमको यतिबेला आलोचना भइरहेको छ । संघीयता खारेजीको एजेन्डा बोकेको दललाई सभामुखजस्तो गरिमामय पद सुम्पिँदा पाठकले त्यसो गरेको आशंका पनि गरिएको छ । यस विषयमा सभामुख पाठकको धारणा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् । तर प्रदेशसभा सचिवालयका कर्मचारीहरूका अनुसार पछिल्लो समय उनले सदनको अवस्थाबारे चासो दिइरहेका छन् । टेलिफोनमार्फत प्रदेशसभा भवन र त्यसको वस्तुस्थितिबारे जानकारी लिइरहेको प्रदेशसभाका एक कर्मचारीको भनाइ छ ।


