हेटौंडा / मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत साउन १३ गते राति करिब ९:४५ बजे गणेशमान सिंह सडक खण्डमा पर्ने बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लोड गर्न रोकी राखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक टौखेल बस्ने ३२ वर्षीय अमिर गोपाली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याइएकोमा भदौ १४ गते साँझ करिब ७:३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


