भूमि प्रशासनलाई आधुनिक र डिजिटल बनाउन मन्त्री श्रेष्ठ आग्रह
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले भूमि केवल भौतिक सम्पत्ति मात्र नभई नागरिकको जीवन, संस्कृति र आर्थिक आधार भएको बताइन ।
भूमि व्यवस्था तथा अभिलेख व्यवस्थापन कार्यालयको आयोजनामा हेटौंडामा तीन दिवसीय भूमि प्रशासनसम्बन्धी सहजीकरण कार्यक्रममा मन्त्री श्रेष्ठले यस्ताे बताएकी हुन् । मन्त्री श्रेष्ठले प्रदेशका मालपोत र नापी कार्यालयहरूको भौतिक संरचना तथा कार्यालय व्यवस्थापनलाई आधुनिक बनाउन यस वर्ष ५ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनले अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत अझ प्रभावकारी र सहज बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
यस्तै, गुठी सम्पत्तिहरूको संरक्षण, दुरुपयोग रोकथाम तथा पारदर्शी व्यवस्थापनका लागि स्थानीय तहहरूसँग समन्वय गर्दै गुठी अभिलेख तयार पार्ने काम भइरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् ।


