तीज पर्व र दर खाने परम्परा
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। विभिन्न संस्कृतिहरूले यहाँको समाजलाई रंगीन र जीवन्त बनाएका छन्। तीमध्ये तीज पर्व महिलाहरूको लागि मात्र नभई समग्र समाजकै साझा पर्वका रूपमा स्थापित भएको छ। तीज विशेषतः हिन्दु नारीहरूको महान् पर्वका रूपमा परिचित छ, जसमा दर खाने, व्रत बस्ने, नाचगान गर्ने र पारिवारिक आत्मीयता साट्ने परम्परा प्रमुख रूपमा देखिन्छ। यस पर्वले विवाहित छोरी र माइतीबीचको सम्बन्धलाई प्रगाढ पार्ने मात्र होइन, सांस्कृतिक ऐक्यबद्धता कायम राख्ने कार्य पनि गरेको छ।
पृष्ठभुमि
हिजोको समाजमा आजजस्तो भौतिक सुविधा र प्रविधिको विकास भएको थिएन। एक गाउँबाट अर्को गाउँसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने, खोलानाला तर्ने पुल नहुँदा कठिनाइ भोग्नुपर्ने र समाचार आदानप्रदान गर्ने कुनै सहज माध्यम नभएकाले पारिवारिक सम्पर्कमा रहन चुनौतीपूर्ण अवस्था थियो। यस्ता अवस्थामा तीज पर्व विशेष अवसरका रूपमा आएको थियो। विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन र माइती घरमै दर खाने परम्पराले समाजमा पारिवारिक एकता र आत्मीयताको भावना जागृत गर्ने काम गर्थ्यो।
पुराना तीज गीतहरूमा त्यही कठिन जीवन र महिलाको पीडा तथा खुशीको झल्को पाइन्छ। गीतमार्फत महिलाले आफ्नो अनुभव, दुःख–सुख, पारिवारिक माया र सामाजिक यथार्थलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने गर्थे। यसरी तीज केवल पर्व मात्र नभई सामाजिक कथा–इतिहास बोकेको सांस्कृतिक अभिलेख पनि हो भन्ने कुरा स्पष्ट हुन्छ।
सामाजिक र सास्कृतिक महत्व
तीज पर्वलाई समाजको आत्मीयता र सांस्कृतिक सम्पदाको जीवन्त प्रतीकका रूपमा लिन सकिन्छ। विशेषगरी दर खाने दिन महिलाहरूले विभिन्न परिकारका भोजन तयार गरी माइतीमा भेला हुन्छन्। यसले दिदीबहिनीबीचको आत्मीयता त प्रगाढ बनाउँछ नै, परिवारका तीन पुस्ता एउटै छानोमुनि बसेर प्रेम र सद्भाव साट्ने अवसर पनि प्रदान गर्दछ। यस्तै, तीज पर्वले नारीहरूको सामाजिक भूमिकालाई स्पष्ट पार्छ। महिलाले आ–आफ्ना अनुभव र भावनालाई गीतमार्फत प्रस्तुत गर्दा समाजको वास्तविकतासमेत उजागर हुन्छ। यसरी तीज एकप्रकारले महिला सशक्तिकरणको माध्यम पनि बन्दै आएको छ।
वर्तमान स्वरुप
सामाजिक संरचनामा समयसँगै उल्लेखनीय परिवर्तन आएको छ। संयुक्त परिवारको स्वरूप खण्डित भई सदस्यहरू विभिन्न ठाउँमा बस्न थालेका छन्। शहरीकरण, प्रवास र व्यावसायिक कारणले परिवारका सदस्यहरू फरक–फरक ठाउँमा विखण्डित भए पनि तीज पर्वले सबैलाई एकै ठाउँमा ल्याउने अवसर दिइरहेको छ।
महिलामा आत्मनिर्भरता र सशक्तिकरण बढेसँगै दर खाने परम्परामा पनि नयाँपन आएको छ। आज धेरै ठाउँमा सामूहिक दर खाने कार्यक्रम आयोजना हुने गरेका छन्। दिदीबहिनी मात्र नभई परिवारका पुरुष सदस्यहरू पनि सक्रिय रूपमा सहभागी हुन्छन्। यसरी तीज पर्व अब केवल महिला–केन्द्रित मात्र नभई समग्र परिवारकै साझा उत्सव बन्न पुगेको छ।
सम्भावना
सांस्कृतिक विविधता र आधुनिकताको संगममा तीज पर्व अझै समृद्ध भएर जाने सम्भावना रहेको छ। यसलाई केवल नाचगान वा भोजभतेरको रूपमा मात्र सीमित नगरी, सांस्कृतिक चेतना, पारिवारिक एकता र महिला सशक्तिकरणसँग जोडेर संरक्षण गर्न आवश्यक छ। नयाँ पुस्तामा यसको महत्त्व बुझाइरहनु र यसलाई जीवन्त राख्नु हाम्रो सामूहिक दायित्व हो।
निष्कर्ष
तीज पर्व र दर खाने परम्परा हाम्रो समाजको जीवन्त सांस्कृतिक सम्पदा हो। यसले विवाहित छोरी र माइतीबीचको आत्मीयता प्रगाढ बनाउनुका साथै समाजमा ऐक्यबद्धता कायम राख्ने कार्य गर्दछ। हिजोका कठिनाइ, आजका परिवर्तन र भोलिका सम्भावना सबैलाई समेटेर तीज पर्व हाम्रो जीवनमा संस्कृतिको सुगन्ध फैलाउने माध्यम बनेको छ। त्यसैले, हामी सबैले यस पर्वलाई केवल परम्परा नभई सामाजिक, सांस्कृतिक र भावनात्मक जीवनको महत्वपूर्ण अंशका रूपमा लिनु आवश्यक छ। तीज पर्वले हाम्रो समाजलाई एकतामा बाँधिरहोस्, आत्मीयता र सद्भावको सुगन्धले जीवनभर हामीलाई हर्षित रहोस्।


