हेटौंडा / मकवानपुरगढी गाउँपालिका–३ फुटसलचोक नजिक भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ९२ वर्षीया नन्दकुमारी न्यौपानेको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार मक्राञ्चुलीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले बुधबार (आज) बिहान करिब ९ बजे न्यौपानेलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएकी उनलाई चालक सन्तोष थापा मगर र कृष्णप्रसाद दाहालले उद्धार गरी बिहान करिब ११ बजेको समयमा हेटौंडा अस्पताल लगेको थिए।
घाइते न्यौपानेलाई दिउँसो करिब ३ बजे थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइए पनि स्वास्थ्य अवस्था जटिल भई अपरेशन गर्न नसकिने भएपछि पुनः मकवानपुर सहकारी अस्पताल हेटौंडामा भर्ना गरिएकी न्यौपानेलाई साँझ ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव सोही अस्पतालमा राखिएको र थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको जनाएको छ ।


