मकवानपुरमा नक्कली सुन बेच्ने गिरोह पक्राउ
Ai photo
हेटौंडा / मकवानपुर प्रहरीले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।
प्राप्त विशेष सूचनाको आधारमा मङ्गलबार (हिजो) साँझ ६ बजेकाे समयमा हेटौंडा उप-महानगरपालिका–११ सुकुम्बासी टोलस्थित त्रिवेणीचोक नजिक भाडाको कोठामा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्य बहादुर नेगी, सोही गाउँपालिकाका ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ का ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् ।
प्रहरीले उनीहरू बस्दै आएको कोठामा खानतलासी गर्दा झोलाभित्र सुनजस्तो देखिने पहेँलो धातुका ५० थान बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघमा पठाउँदा तीमध्ये ४९ थान नक्कली र १ थान मात्रै सक्कली सुन रहेको पुष्टि भएको हो । बरामद सक्कली सुन (१० ग्राम) को बजार मूल्य करिब १ लाख ६७ हजार ६९५ रुपैयाँ रहेको बताइएको छ ।
बरामद सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ भने बाँकी नक्कली धातु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध ठगी उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




