बागमती प्रदेशसभा बैठक: मुख्यमन्त्री, मन्त्री र सांसद भने मस्त निद्रामा

पालिका डायरी
२८ श्रावण २०८२, १४:५८

बागमती प्रदेश सभा बैठक बुधबार (आज) जारी छ। मध्याह्न १२ बजेबाट सुरु भएको प्रदेश सभा बैठकको विशेष समयमा प्रदेश सांसदहरूले आ–आफ्नो धारण राखिरहेका छन् ।

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले विशेष समयमा बोल्न चाहने सांसदहरूलाई समय दिए ।  तर रोष्टममा सांसदहरूले बोल्दैगर्दा तल कुर्सीमा बसेका सांसद तथा मन्त्रीहरू भने निदाइरहेको दृश्य नै प्रदेश सभा सचिवालयको आधिकारिक सामाजिक सञ्जालका पेजहरूबाट प्रशारण भैरहेको छ ।

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले प्रदेशबासीको समस्या सुनाउँदै विषयगत मन्त्रीको ध्यानाकर्षण गराए । तर मन्त्रीहरू भने मस्त निदाइरहेका थिए ।

थापाले किसानले समयमा मल नपाएको विषयमा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको ध्यानाकर्षण गराउँदै किसानको समस्या सुनाइरहेका बेला मन्त्री पौडेल भने कुर्सीबाटै लडिएला झैं गरी निदाइरहेका थिए । नेता थापाले के बोले भन्नेबारे उनले भेउ नै पाएनन् ।  जबकि सांसदहरूको गुनासो, सुझाव सुनेर मन्त्रीले नयाँ कार्यक्रम वा कार्योजना ल्याउन पर्थ्यो ।

यता, मन्त्रीमात्रै होइन, सांसदहरूले पनि रोस्ट्रममा बोलिरहेका सांसदहरूको वास्ता गरेनन् । थापाले बोलिरहँदा कांग्रेस बागमती संसदीय दलका सचेतकसमेत रहेका कञ्चनचन्द्र बादे, सांसद पुकार महर्जन र सुना परियार निदाइरहे ।

कांग्रेस सांसद यमुनादेवी श्रेष्ठले बोलिरहँदा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमेत निदाइरहेका थिए । उनले नवनियुक्त मुख्यमन्त्री र उनका समूहले प्रदेशवासीको हितमा काम गर्ने विश्वास रहेको बताउँदै शुभकामना दिँदैगर्दा मुख्यमन्त्री बानियाँ भने निद्रामा झुलिरहे ।

‘प्रदेशका १३ वटै जिल्लामा राम्रोसँग विकास वितरण होस् भन्न चाहन्छु । हाम्रो मुख्यमन्त्री ज्यूको प्रतिवद्धतालाई साकार बनाउन मन्त्रीहरू देखि कर्मचारीहरूको समेत भूमिका रहने भन्दै सबैले सहयोग गरिदिनुहुन आग्रह गर्दछु,’ सांसद श्रेष्ठले यति भन्दै गर्दा मुख्यमन्त्री बानियाँ झसक्क झस्किएर ब्यूँझिए ।

प्रतिक्रिया