बागमती: बानियाँलाई साथ दिन खानेपानी मन्त्रीले दिए राजीनामा
बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन्।
मंगलबार (आज) बिहान मन्त्री खड्काले मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष राजीनामा बुझाएका हुन्।
कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध दलको कार्यालयमा दर्ता अविश्वास प्रस्तावमा मत विभाजन गर्ने अन्तिम समयमा खड्काले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताए।
यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा भने खड्काले लामालाई समर्थन गरेका थिए।
यससँगै बगमती सरकारबाट राजीनामा दिने कांग्रेस मन्त्रीको संख्या ५ पुगेको छ। यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिइसकेका छन्।
पाँचै जनाले बानियाँलाई समर्थन गर्ने बताएका छन् । अविश्वासको प्रस्तावमा बहुमत पुर्याउन बानियाँ समूह सक्रिय देखिएको छ।
कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ। बागमतीमा कांग्रेसभित्रै सत्ताको लुछाचुँडी देखिएको हो। जसका कारण कांग्रेसका प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँले आफ्नै दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।


