अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद फर्किए मुख्यमन्त्री लामाकै पक्षमा

पालिका डायरी
१३ श्रावण २०८२, ११:२४

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले यसमा आफूहरूको सहमति नरहेको भन्दै नाम फिर्ता लिएका छन्।

आफ्नै दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार दर्ता अविश्वास प्रस्तावबारे आफूहरूलाई थाहै नदिई हस्ताक्षर गराइएको दाबी गर्दै सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले त्यसबाट आफूहरू नाम फिर्ता लिइएको घोषणा गरेका हुन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी आफूहरू मुख्यमन्त्री लामाकै समर्थनमा रहेको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको बेहोरा अवगत गराउँद छौँ।’

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएको पाइएकोमा सो विषयमा असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता लामलाई समर्थन रहेको जानकारी गराउँदछु।

प्रतिक्रिया