हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।
आज दिउँसो करिब ०२:३० बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी अन्दाजी ५१/५२ वर्षीय मोति बहादुर क्षेत्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि ३ बजे बजे हेटौडा अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा डाक्टरले मृत घोषित गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ।
स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी अन्दाजी ३६/३७ वर्षकी नरमाया गुरूङ गम्भीर घाइते भएकी छन्। उनको दाहिने खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ। उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज, चितवनमा लगिएको छ भन उनको अवस्था गम्भीर भए पनि सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरी, बोर्डप्रसाई नगरपालिका–२ निवासी अन्दाजी ३५ वर्षीय अशोक यादवलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।


