कुलेखानीबाट लागुऔषध सहित चार भारतीय नागरिक पक्राउ
हेटौंडा / सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भिमफेदीको संयुक्त टोलीले ठूलो मात्रामा लागुऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ परेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
बिशेष सूचनाको आधारमा गरिएको अपरेशनमा शनिबार (हिजो) राति करिब ८:४५ बजे इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी हुँदै काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर प्लेट (BR05PA9093) भएको स्कारपियो गाडीलाई रोकी चेकजाँच गर्दा लागुऔषध लुकाएर ल्याएको अवस्थामा फेला परेको हो।
गाडीमा भारतको मोतीहारी जिल्ला अन्तर्गत सुगौली पोष्ट थाना बन्जरीया ग्राम सुगौली वड नं. ११ का २४ वर्षीय शेख गुल्जार, वडा नं. ९ का २५ वर्षीय बसिम अहमद, वडा नं. ३ का १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत सवार रहेका थिए प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार गाडीको विभिन्न भागमा फल्स बटम बनाई लुकाएर ल्याइएको अवस्थामा डाईजेपाम २२२६ एम्पुल, नुर्फिन २३५६ एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराइड १८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल लागुऔषध तथा ट्रामाडोल ४९ ट्याबलेट फेला परेको हाे ।
उक्त लागुऔषध र प्रयोग गरिएको गाडी बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


