हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

पालिका डायरी
४ असार २०८२, १७:५८

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने माथि कार्यकक्षमै कालो मोविल सहित आक्रमण भएको छ।

भूमि सम्बन्धि समस्या देखाउँदै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण गरेको बताइएको हो। कालो पोशाक लगाएर मोटरसाईकलमा आएका ४ जनाको समुहले न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेको हो। उनिहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोविल छ्यापेका हुन्।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगाएत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहदा पनि आफूमाथि आक्रमण भएको अध्यक्ष न्यौपाने बताउँछन्।

केही अघिबाट हेटौंडा–१ स्वर्गलोक सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो । सोही बिषय लिएर वडाका आएका व्यक्तिहरुले आक्रमण गरेको बताइएको छ।

आक्रमणको क्रममा अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ। घटनाका पछि उनले प्रयोग गर्ने दुईवटै मोबाईल समेत लगेको बताए। घटना पछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित वडा अध्यक्षहरु घटना स्थल पुगेका छन्।
घटनाको विशेष ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई आग्रह गरिन्। घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरीन्।

वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको बिषयलाई लिएर उपमहानगरपालिकाको आकस्मिक बैठक बस्ने भएको छ। बैठक पछि उपमहानगरले आफ्नो धारणा सार्वजनिक गर्ने नगरप्रमुख लामाले बतइन्।

प्रतिक्रिया