थाहामा ब्रेक फेल भएको बसको ठक्करबाट २ जनाको मृत्यु, ४ घाइते

पालिका डायरी
१२ जेष्ठ २०८२, २१:४४
थाहामा ब्रेक फेल भएको बसको ठक्करबाट २ जनाको मृत्यु, ४ घाइते

मकवानपुरको थाहा नगरपालिका–३ स्थित विद्युत प्राधिकरणनजिकै त्रिभुवन राजपथमा एक गम्भीर सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

आज (सोमबार) साँझ करिब ६:५९ बजे गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरभित्र पसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी निरीक्षक सविनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । दुर्घटनामा परेका मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ।

मृत्यु हुनेमा हाल ठेगाना नखुलेका करिब ३५-४० वर्षका कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुर रहेका छन्। दुवैको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका क्रममा साँझ ७:२५ बजे मृत्यु भएको थियो।

त्यस्तै, गम्भीर घाइते भएका रघुनन्दन यादव र कमलेश कुमार साहलाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । घाइते अन्य दुई जनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ निवासी छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ निवासी रामगुलाम चौधरी रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको र पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि थाहा नगरपालिका–५ निवासी २९ वर्षका बस चालक राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पालुङले जनाएको छ ।

प्रतिक्रिया