विकट गाउँपालिकामा शिक्षाको पहुँच टाढै: न त सडक, न त विद्यालय बसको सुविधा
जमिन नै थर्काउने गरी आकाश गर्जिरहेको छ । भुइँ नै छोएजस्तै बिजुली चम्किरहेको छ । हावा हुन्डरी सुरु हुनै लागेको कालोमैलो दृश्य । सिमसिम पानी पर्न सुरु भइसकेको छ । थाहा छैन- बीच बाटोमा ठुलो पानी पर्यो भने कहाँ ओत लाग्ने हो ?
काँधै तानिरहेको किताबले भरिएको ठुलो ब्याग । थाकेका गोडा । त्रसित मनस्थितिमा हतार-हतार हिँडिरहेका थिए- विद्यार्थीहरू । उनीहरू मकवानपुरको कैलाश गाउँपालिका-३ स्थित श्री भवानी माध्यमिक विद्यालयबाट घर फर्किंदै थिए बुधबार (वैशाख ३१) अपराह्न ।
त्यही समूहमा थिइन्- कैलाश गाउँपालिका-२ टकुवा भन्ने स्थानमा घर भएकी १४ वर्षीया स्मृति मोक्तान । उनको अनुहार रातो भएको थियो ।अनुहारबाट धारोझैँ घाँटीमा झरिरहेको थियो पसिना । पसिनाले निथ्रुक्क भिजेको थियो उनले लगाएको सर्ट ।
काँधको झोला भारी भएर बेलाबेला ढाडमा उफारिरहेकी थिइन्- पुस्तकले भरिएको ब्याग । निधारदेखि चिउँडोसम्मको पसिना दाहिने हातले पुछ्दै स्मृतिले आफ्नो घर भएको पाखोतिर देखाउँदै भनिन्, ‘ऊ…त्यहाँ पुग्नुपर्छ । भर्खर त आधा घण्टाको बाटो सकियो । अझै २ घण्टा हिँडेपछि मात्रै पुगिन्छ ।’ आफू विद्यालय आउन बिहान ५ बजे नै उठ्ने गरेको उनी बताउँछिन् । बिहान सबेरै नउठे घरको काम भ्याएर १० बज्दा विद्यालय पुग्न नभ्याइने उनले बताइन् ।
‘घर पुग्दा ७ बज्न लाइसक्छ । हिँडेको थकाइले किताब पल्टाउन मन लाग्दैन’, उनले भनिन्, ‘जसोतसो होमवर्क गर्यो । अरू पढ्न त भ्याइँदैन। बिहान उठेर घरको काम गर्नुपर्छ ८ बजे त स्कुल हिँड्नपर्छ ।’ बिहान उठेपछि उनको काम कि घाँस काट्ने कि त खाना बनाउने हुन्छ । आमा घाँस काट्न गए स्मृति खाना बनाउँछिन्, आमाले खाना बनाए उनी घाँस काट्न जान्छिन् ।
कक्षा ९ मा अध्ययनरत स्मृति कक्षा १० मा पढ्ने आफ्ना दाइ र गाउँका अन्य साथीसँग विद्यालय आउँछिन् । विद्यालय टाढा भएकै कारण पढ्न भन्दा आउजाउमा बढी समय र श्रम पर्ने दु:खेसो उनले गरिन् । उनीहरूसँगै आउजाउ गर्छिन्- त्यही गाउँकी १५ वर्षीया अम्बिका स्याङ्बो । कक्षा १० मै पढ्ने उनी पनि विद्यालय निकै टाढा रहेका कारण गाह्रो भइरहेको गुनासो गरिन् ।
‘गोडाहरू करकर दुख्छ । पिँडुला बट्टारिन्छ । राति घर पुग्दा त लखतरान हुन्छ’, हिँडाइको दु:ख सुनाउँदै अम्बिकाले भनिन्, ‘कुन बेला घर पुगेर भात खानुजस्तै गरी भोक पनि लाग्छ । फेरि थाकेका बेला तातो भात खाएपछि पढ्न मनै लाग्दैन ।’
कक्षा ५ सम्म घरनजिकै रहेको डिलेश्वर आधारभूत विद्यालयमा पढेका उनीहरू त्यसमाथिका कक्षा (माध्यमिक शिक्षा) पढ्न त्यति टाढा छिमेकी वडामा रहेको विद्यालय जानुपरेको हो ।
त्यसरी पढ्नुपर्ने बाध्यताका विद्यार्थी करिब २० जना छन् । कैलाश गाउँपालिका-२, टकुवा घर भएका उनीहरूलाई विद्यालय जाँदा २ घण्टा र फर्कंदा त्यति नै लाग्छ । सोही समूहमा रहेकी सोनिका स्याङ्बोले किताब धेरै भएका कारण बाटोमा धेरै थकाइ लाग्ने बताइन् ।
ढाडमा बोकेको कालो रङको ब्याग देखाउँदै उनले भनिन्, ‘७ वटा किताब छन् । कापी पनि ७/८ वटै छन् । व्याकरण र हाम्रो कैलाश विषयको किताब आइपुगेको छैन । त्यो पनि आएपछि ९ वटा हुन्छन् । ज्यान नै गलाउने त यो झोलाले हो । रित्तै हिँड्न पाउने भए त गाह्रो पनि हुन्नथ्यो होला !’ विद्यालय जाउजाउ गर्न सहरतिरजस्तै बसको सुविधा भइदिए हुन्थ्यो भन्ने उनीहरूलाई लागेको छ ।
‘बस अथवा भ्यानको सुविधा भए त स्कुल पुग्ने बेलामै भोक लाग्ने गरी बिहानै खाना पनि खान पर्दैनथ्यो होला’, सोनिकाले भनिन्, ‘अहिले त बिहान साढे ७ बजे नै खानुपर्छ । ८ बजे निस्कँदा पनि बाटोमा अलमल गरियो भने हाजिर गर्ने पहिलो क्लास नै छुट्छ । कक्षामा पुग्ने बेलामै भोक लागिसक्छ ।’
कैलाश गाउँपालिकाका शिक्षा शाखा अधिकृत समीर जोशीले सबै वडा र गाउँमा सडक सञ्जाल नजोडिएकाले गाउँपालिकाले प्रदेश सरकारसँग विद्यालय बसको माग गर्न नसकेको बताए ।
‘सबै वडामा बस पुग्दैन, बस गुड्ने खालको सडक बन्न पनि बाँकी नै छ’, शिक्षा शाखा अधिकृत जोशीले सुनाए, ‘विद्यार्थीहरूलाई सहजताका लागि विकल्प नसोचिएको त होइन, तर यातायात सञ्चालनका लागि आवश्यक सडक सञ्जाल नभएकै कारण विद्यालय बसको प्रस्ताव प्रदेश सरकारसमक्ष लगिएकै छैन ।’
मकवानपुरका स्थानीय तहमध्ये कैलाश गाउँपालिका सबैभन्दा विकट पालिका हो । १० वटा वडा रहेको यस गाउँपालिकाभित्र जम्मा ४३ विद्यालय छन् । तीमध्ये ६ वटा माध्यमिक तह, ४ निमावि र बाँकी प्राथमिक तहका स्कुल रहेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत जोशीले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाभरिमा कैलाश-९, नामटारमा रहेको श्री कालिका माध्यमिक विद्यालयमा मात्रै कक्षा १२ सम्म पढाइ हुन्छ ।


