एकीकृत समाजवादीको उपाध्यक्षमा भुजेल चयन
हेटौंडा / नेकपा एकीकृत (समाजवादी) को मकवानपुर जिल्ला उपाध्यक्ष पदमा ध्रुबकुमार भुजेल सर्वसम्मतरूपमा चयन भएका छन्। उनी जिल्ला सचिवको पदमा रही काम गर्दै आएका थिए।
वैशाख १८ गते हेटौंडामा बसेको जिल्ला कमिटीको म्यान्डेट अनुसार आज (आइतबार) जिल्ला पार्टी कार्यालय हेटौंडा–४ मा बसेको जिल्ला कमिटीको बैठकले केही पदाधिकारीहरूलाई पदोन्नति गरेको छ।
यसैक्रममा सचिव पदमा उपसचिव पदमा रहेका किशोर बर्तौलालाई चयन गरिएको छ। त्यसैगरी उपसचिवमा गीता कडेरिया मैनाली चयन भएकी छिन्।
पार्टी अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरू चयन गरेको हो। बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलको प्रमुख आतिथ्यतामा तथा पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, रामचन्द्र बल, प्रदेश सदस्य माधव तिमल्सिना, कृष्णराम चेपाङ लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।


