मकवानपुरको बकैयामा श्रीमानको कुटपिटबाट श्रीमती गम्भिर घाईते
हेटौँडा / मकवानपुरको बकैया गाउँपालिका-९ कालिमाटीमा घरायसी विवादका कारण अष्ट बहादुर न्यासुर र उनकी श्रीमती ४५ वर्षीया कान्छिमाया न्यासुरबीच झै–झगडा र कुटपिट हुँदा कान्छिमाया गम्भिर घाईते भएकी छिन्।
श्रीमती कान्छिमाया न्यासुर घाइते भएपछि उनलाई राति करिब १२ बजे उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएकाले उनलाई सी एम सी चुरेहिल अस्पताल मकवानपुरमा रिफर गरी आईसीयूमा राखेर उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । हाल उनकी अवस्था गम्भीर छ भने उनी अचेत अवस्थामा रहेको बताइएको छ।
शुरुआती जाँचमा बाहिरी चोटपटक देखिएको थिएन। तर अस्पतालमा भर्ना गरिएपछि विष सेवन गरेको कुरा खुलेको हो। निजकी छोरी उर्मिला न्यासुरका अनुसार घरमा झगडा भइरहेका बेला उनकी आमाले मकैमा प्रयोग हुने विषादी सेवन गरेकी थिइन्।
कुटपिट गर्ने अष्ट बहादुर न्यासुर हाल फरार छन् भने उनको खोजतलास तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



