पारिजातको स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिने

पालिका डायरी
२१ बैशाख २०८२, १९:५८

हेटौंडा  /  हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको सहयोगमा आँचल साहित्य कला पुञ्जले पारिजात स्मृति दिवस विशेष कार्यक्रम गर्ने भएको छ । आउँदो २६ गते शुक्रबार हेटौंडा–१० स्थित दर्शन पार्टी प्यालेसमा पारिजात स्मृति दिवस मनाइने भएको हो ।

आइतबार हेटौंडा–१० नम्बर वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराइएको हो । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाले पारिजातको स्मृतिमा समृद्ध गणतन्त्रका आधार विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने बताइन् । यस्तै, शव्दचित्रमा पारिजात वृत्तचित्र प्रस्तुती, पारिजातको व्यक्तित्व तथा कृतिमाथि विमर्श कार्यक्रम, रचना वाचन कार्यक्रम तथा विभिन्न स्थानीय साहित्यकार तथा कलाकारबाट सांस्कृतिक कार्यक्रम गरिने अध्यक्ष सापकोटाले बताइन् ।

उनको अनुसार शनिबार दिउँसो सामाजिक रुपान्तरणमा राजनैतिक आन्दोलनको भूमिका विषयक खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । सो प्रतियोगितामा सहभागी १९ जनामध्ये उत्कृष्ट १० जना छनौट गरिएको छ । ती छनौट भएका १० प्रतियोगिले शुक्रबार कार्यक्रम स्थलमा समृद्ध गणतन्त्रका आधार विषयक वक्तृत्वकलामा सहभागी हुनेछन् ।

उत्कृष्ट १० मा पर्नेहरुमा आदित्य पराजुली, आलिया थपलिया, एलिना चौलागार्इँ, देविना संजेल, प्रियान्सु पोखरेल, प्रेक्षा तिमल्सिना, राशिका खनाल, सर्जु भण्डारी, सुनिल न्यौपाने र सुलक्षणा अर्याल रहेका छन् । हरेक बर्ष पारिजातको स्मृतिमा वडा कार्यालयको आर्थिक सहयोगमा आँचल साहित्य कला पुञ्जले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाकी अध्यक्ष सापकोटाले बताइन् ।

यता, हेटौंडा–१० नम्बर वडाका वडाध्यक्ष फूर्वा दोर्जे लामाले पारिजातको स्मृतिमा वडा कार्यालयले मात्रै नभएर हेटौंडा उपमहानगरपालिकाले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने बताए । वडा कार्यालयको समन्वयमा विगत तीन वर्षदेखि निरन्तर कार्यक्रम गरिदै आएको अध्यक्ष लामाले बताए ।

पारिजातले साहित्य क्षेत्रमा मात्रै नभएर लोकतान्त्रिक गणतन्त्रको लागि योगदान दिएको र उक्त योगदानको कदर गर्दै अगाडि बढ्नुपर्छ भनेर आफूहरु लागेको उनले बताए । उक्त कार्यक्रमका लागि वडाले २ लाख रुपैँया बजेटको समेत व्यवस्थापन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया