मकवानपुरमा कुरिलो टिप्न गएका पुरुषको भीरबाट लडेर मृत्यु
हेटौंडा / मकवानपुरगढी गाउँपालिका–५ सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएका एक पुरुषको भीरबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–५ का ५२ वर्षीय कप्तान रुम्बा रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आज दिउँसो करिब १२:३० बजेको समयमा उनी सामुदायिक वनमा कुरिलो टिप्ने क्रममा भिरबाट झण्डै १०० मिटर तल खसेका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक (प्र.नि.) विरेन्द्र रायमाझीको टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न गरिसकेको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।
प्रतिक्रिया



