मनहरीमा सवारी दुर्घटना, एक पैदल यात्रुको मृत्यु

पालिका डायरी
१९ बैशाख २०८२, १२:०९
accident

हेटौंडा /  पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा विहिबार (हिजो) भएको सवारी दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ।

हेटौंडा तर्फबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्री गंगा बहादुर स्याङतानलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ । ७० वर्षीय स्याङतान राक्सिराङ गाउँपालिका–९ स्थायी बासिन्दा हुन्, तर उनी हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएकाे प्रहरीले जनाएकाे छ।

ठक्करबाट गम्भीर घाइते भएका स्याङतानलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै बिहान ६ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। ट्रकको ठक्करले स्याङतानको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक सर्लाही हरिवन नगरपालिका–११ का ४० वर्षीय प्रमोद महत्तो इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया