मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
हेटौंडा / मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९, खरङ्गा स्थित पूर्व–पश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२, संगमटोल बस्ने ५८ वर्षीय जितबहादुर प्रधानको आज बिहान मृत्यु भएको हो।
काठमाडौंतर्फबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडी रोकी बाहिर शौचालय जानका लागि बाटो क्रस गर्ने क्रममा, सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा मृत्यु भएको हो।
बसले ठक्कर दिएर घाइते बनाएपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। बस चालक धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



